दुर्घटना बढेपछि सराङकोटमा प्याराग्लाइडिङ बन्द

होमल्याण्ड खबर

२०७५ फाल्गुन २१ गते, मंगलवार १६:०७ मा प्रकाशित

पोखरा महानगरपालिकाले भोलि बुधबारदेखि प्याराग्लाइडिङ उडानमा रोक लगाउने भएको छ । दिनहुँजस्तो दुर्घटना बढेको र महानगरले तोकेको कर नतिरेको भन्दै उडानमा रोक लगाउने भएको हो ।

प्याराग्लाइडिङ कन्पनीले विगत २०७२ यता महानगरलाई कर बुझाएका छैनन् भने दर्ता पनि भएका छैनन् । पोखरा–१८ का वडाध्यक्ष रणबहादुर थापाले कर नतिरेका कम्पनीको उडान रोकिने जनाए । “कति छन्, तथ्यांक नै छैन, ३ वर्षयता कर पनि तिरेका छैनन्,” उनले भने, “कर पनि नतिर्ने दर्ता पनि नगर्ने कम्पनीलाई सराङकोटबाट प्याराग्लाइडिङ उडानमा रोक लगाइनेछ ।”

थापाका अनुसार जम्मा एउटा कम्पनीमात्र महानगरपालिकामा दर्ता भएको छ । थापाका अनुसार अहिलेसम्म कम्पनीहरुले १ लाख ८६ हजार रुपैयाँ कर तिर्न बाँकी नै छ । तत्कालीन सराङकोट गाविस हुँदा वार्षिक १ लाख २५ हजार रुपैयाँ पर्यटन कर तोकिएको थियो । त्यतिबेला कम्पनी थोरै थिए । पछि कम्पनी बढी भएपछि वार्षिक ५५ हजार रुपैयाँ सम्म गाविसले कर तोकेको थियो ।

सराङकोट पोखरा उपमहागनरमा गाभिएपछि उपमहानगरले वार्षिक ५ हजार ५ सय रुपैयाँ कर लिने निर्णय गर्यो । पछि महानगरपालिका भएपछि अघिल्लो आव २०७४–०७५ मा प्रति कम्पनी वार्षिक ५० हजार रुपैयाँ तथा चालु आव २०७५–०७६ मा २५ हजार रुपैयाँ लिने निर्णय भएको छ । प्याराग्लाइडिङ कम्पनीलाई महानगर मातहतमा ल्याई दर्ता गर्ने र राजस्व उठाउने निर्णय भएतापनि कम्पनीहरु भने अटेरी गर्दै आईरहेका छन् ।

उनीहरुले आर्थिक वर्ष २०७२–०७३ यता कर नै नतिरेको थापाको भनाइ छ । यो वर्षदेखि प्रदेश सरकारले पनि प्याराग्लाइडिङमा कर लिने भएकोले केही शुल्क घटाइएको महानगरले जनाएको छ ।

कर संकलनको अधिकार भने महानगरले वडालाई दिएको छ । वडा कार्यालयले पत्र पठाएतापनि कम्पनीले भने पत्र बुझ्नै मानेनन् । पत्र पनि नबुझेपछि महानगरले उडान नै भर्न नदिने निर्णय गरेको हो । जिल्ला प्रहरी, जिल्ला प्रशासनलाई पनि बोधार्थ बुझाएर प्याराग्लाईडिङ उडान रोक्न लागिएको वडाध्यक्ष थापाले बताए ।