आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइदैं

होमल्याण्ड खबर

२०७५ फाल्गुन २४ गते, शुक्रबार ०९:०० मा प्रकाशित

आज १ सय ९ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदै छ । ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ भन्ने मूलनाराका साथ नारी दिवस मनाउन लागिएको हो ।

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाउने थालिएको हो ।

दिवसलाई भव्यरुपमा सफल बनाउनका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मन्त्री थममाया थापाको अध्यक्षमा मूल समारोह समितिसमेत गठन गरेको छ ।

दिवसका अवसरमा मन्त्रालय र गैरसरकारी संस्थाले समेत विभिन्न कार्यक्रम गर्ने भएका छन् ।

मन्त्रालयको आयोजनामा बिहान प्रभातफेरी कार्यक्रम गरिने र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख अतिथ्यतामा राष्ट्रिय सभागृहमा मूल समारोहको कार्यक्रम आयोजनामा गरिएको छ ।