२९ फाल्गुन २०८२, शुक्रबार
आज १ सय ९ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदैछ ।
दिवशका अवसरमा राष्ट्रप्रमुख, सरकार प्रमुख र राजनीतिक दलका शीर्ष नेताले शुभकामना दिएका छन् ।


राष्ट्रपति विद्यादेवी भण्डारीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने काममा आ–आफ्नो क्षेत्रबाट अग्रसर हुन सबैमा आग्रह गरेकी छिन् । उनले सबै महिलाको हक अधिकार, समानता, सशक्तीकरण तथा मानव अधिकारप्रति पूर्ण समवेदनशील भइरहन प्रेरणा मिलोस् भनी कामना गरेकी छन् ।
संविधानले सुनिश्चित गरेको व्यवस्था र संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म पूरा गर्नेगरी तय गरेको दिगो विकास लक्ष्यमा महिला सशक्तीकरण र लैङ्गिक समानतालाई प्राथमिकताका साथ उठाइ कार्यान्वयनका लागि नीतिगत, संस्थागत कार्यक्रमकोसमेत थालनी गरिसकेको अवस्थामा यी सबै प्रावधान र प्रयासलाई सफल बनाउन सकेमा महिलाका लागि नेपाल अनुकरणीय बन्न सक्नेछ’ राष्ट्रपतिद्धारा जारी सन्देशमा भनिएको छ।
यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्ने बताएका छन् । उनले महिला राजनीतिक, सामाजिक तथा आर्थिक रुपमा स्वतन्त्र र सशक्त नभएसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ सम्भव नभएको बताएका छन् ।
यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणमार्फत् सारभूत समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको यात्रामा अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
प्रधानमन्त्री ओलीले समानताको सोचलाई प्रवर्द्धन गर्दै महिलाको राजनीतिक, आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न आफ्नो जीवनअर्पण गर्नुहुने सम्पूर्ण श्रद्धेय व्यक्तित्वको स्मरण गरेका छन् । उनले शासकीय पद्धतिमा भएको परिवर्तनसँगै संघीय संरचनामा महिलाको प्रतिनिधित्वमा राजनीतिक, आर्थिक एवम् सामाजिक क्षेत्रमा उल्लेख्यरुपमा वृद्धि भएकामा खुशी व्यक्त गरेका छन् ।
सभामुख कृष्णबहादुर महराले दिवसका अवसरमा शुभकामना सन्देश दिँदै लैङ्गिक समानताका लागि राज्य तहबाटै प्रत्याभूत गर्ने गरी समान अवसर, समान सहभागिता र समान पहुँचको सुनिश्चित गर्नुपर्ने बताएका छन् । महिलाको अवस्थालाई दृष्टिगत गरी निश्चित समयसम्म समावेशी÷समानुपातिक प्रणाली एवम् विशेषाधिकारको व्यवस्था हुनु जरुरी रहेको बताएका छन् ।
त्यस्तै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव अन्त्य गरी सभ्य समाज निर्माण गर्नुपर्ने बताएका छन् । अध्यक्ष तिमिल्सिनाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव अन्त्य गरी सभ्य समाज निर्माण गर्न नविनतम पहल जरुरी रहेको बताएका छन् ।
यसैगरी, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश तथा विदेशमा रहेका सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्दे मुलुक अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको र शहरदेखि गाउँमा महिला शोषण, दमन र उत्पीडनबाट आक्रान्त रहेको उल्लेख गरेका छन् ।
नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनमा अग्रणी स्थानमा उभिएर महिला दिदीबहिनीले आफ्नो प्राणको आहुति गरेको उल्लेख गर्दै सभापति देउवाले महिलाप्रति उच्च सम्मान प्रकट गरेका छन् ।