२९ फाल्गुन २०८२, शुक्रबार
राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यका लागि शैक्षिक तथा जनचेतनामूलक कार्यक्रमलाई अझै प्रभावकारी ढंगले अघि बढाउन जरुरी रहेको बताएकी छन्।
राष्ट्रपति भण्डारीले समाजमा विद्यमान बोक्सी, छाउपडी, दाइजो प्रथालगायतका समाजमा अझै पनि जरो गाडेर बसेको अन्धविश्वास र कुरीति अन्त्यका लागि बनाइएका कानुन प्रभावकारी रुपमा कार्यान्वयन गर्न पनि सरकारलाई आग्रह गरिन्।


१ सय ९ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बाल विबाह, बहुविवाह, अनमेल विवाह, घरेलु हिंसा, कार्यस्थलमा महिलामाथि हुने दूव्र्यहारको घटना अन्त्यका लागि संविधानले स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यक्ता औंल्याइन्।
राष्ट्रपति भण्डारीले नेपालको संविधानले छाउपडी प्रथा अन्त्य गर्ने व्यवस्था गरेपनि त्यसको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन जरुरी रहेको पनि बताइन्।
कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि संघ, प्रदेश र स्थानीय सरकारले मिलेर अभियाननै संचालन गरिरहेको दावी गरिन्।
उनले महिला हिंसा अन्त्यका लागि नेपालको संविधानले उचित व्यवस्था गरेको उल्लेख गर्दै त्यसको प्रभावकारी कार्यान्वयन गर्दै अघि बढने प्रतिवद्धता पनि व्यक्त गरिन्। बोक्सी, छाउपडीजस्ता सामाजिक अन्धविश्वास अन्त्यका लागि सरकारले सक्दो पहल गरिरहेको पनि मन्त्री थापाको दावी छ।
मन्त्री थापाले सरकारले महिलामाथि हुने सबै प्रकारको विभेद अन्त्यका लागि महिला हिंसा विरुद्धको राष्ट्रिय अभियाननै संचालन गरिरहेको पनि स्मरण गराइन्।
सरकारले यस वर्ष ‘लैगिक समानताका लागि समान सोच र व्यवहारः समृद्धिको आधार’ भन्ने राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस कार्यक्रम आयोजना गरेको हो। मन्त्री थापाले महिला हिंसा अन्त्यका लागि महिलाहरुलाई सशक्त बनाउँदै लैजाने कार्यक्रमलाई जोड दिइएको बताइन्।