यस्तो रहेछ विकास समितिमा मन्त्री महासेठ अनुपस्थित हुनुका कारण

होमल्याण्ड खबर

२०७५ चैत्र ४ गते, सोमबार १६:१३ मा प्रकाशित


भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ उपस्थित नभएपछि संघीय संसदको विकास तथा प्रविधि समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । बहुबर्षीय आयोजनाको कामबारे जानकारी लिने उद्देश्यका साथ बोलाइएको विकास तथा प्रविधि समितिको सोमबारको बैठक मन्त्री महासेठ अनुपस्थित भएपछि बस्दै नबसी स्थगित गरिएको हो ।

समितिको बैठकमा बहुवर्षीय आयोजनाको काम रोकिनुको कारणबारे जानकारी लिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठ र अर्थमन्त्री डा।युवराज खतिवडालाई बोलाइएको थियो । तर मन्त्री महासेठ अनुपस्थित भएपछि बैठक स्थगित गरिएको थियो । १२ बजेका लागि बोलाइएको बैठकमा मन्त्री महासेठ अनुपस्थित भएपछि बैठक स्थगित गर्नु परेको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

यता, समितिका सदस्यहरुले भने महत्वपूर्ण विषयमा छलफल गर्न बोलाइएको बैठकमा मन्त्री महासेठ अनुपस्थित भएकोमा आपत्ति जनाएका थिए ।

समितिका सदस्य यज्ञराज सुनुवारले सांसदहरुको चाँही काम नहुने जसरी मन्त्रीहरु महत्वपूर्ण बैठकमा पनि उपस्थित नभएको भन्दै आपत्ति जनाए । उनले बहुवर्षीय आयोजनाबारे कुनै कामै नगरेकाले पनि मन्त्री महासेठ समितिको बैठकमा अनुपस्थित भएको हुन सक्ने आशंका पनि व्यक्त गरे ।

बैठकमा आधाघण्टा ढिलो गरी उपस्थित भएका अर्थमन्त्री खतिवडाले भने मन्त्रीहरुको कार्यव्यवस्तालाई बेवास्ता गर्दै समितिको बैठक बोलाउने गरेको भन्दै गुनासो गरेका थिए । उनले राष्ट्रियसभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा उपस्थित भएर आउँदा समितिको बैठकमा आउन केही ढिलाई भएको पनि स्पष्टिकरण समितिलाई दिएका थिए । कार्यव्यवस्थालाई ध्यानमा राखेर मन्त्रीहरुलाई समितिको बैठकमा बोलाउन सभापति खड्कालाई अर्थमन्त्री खतिवडाले आग्रह छ ।

समितिको बैठक सोमबार दिउँसो १२ बजेका लागि बोलाइएको थियो । तर साढे १२ बजेसम्म पनि मन्त्री महासेठ बैठकमा उपस्थित नभएपछि बैठक स्थगित गरिएको समितिकी सभापति खड्काले जानकारी दिइन् ।