हुम्लामा हिमपातले एसईई परीक्षा दिने विद्यार्थीलाई समस्या

होमल्याण्ड खबर

२०७५ चैत्र १२ गते, मंगलवार १०:१३ मा प्रकाशित

चैतको दोस्रो सातामा पनि हुम्लामा पुनः हिमपात भएको छ । चैतको दोस्रो साता हिमपात हुँदा एसईई परीक्षा दिने परीक्षार्थी समस्यामा परेका छन् ।

जिल्लामा सोमबार दिनभरि पानी परेको थियो भने आज बिहानदेखि हिमपात शुरू भएको छ ।

हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी समस्या बनाउने भएको मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष अमरबहादुर शाहीले बताए ।

चैत १० गतेबाट सञ्चालन भएको एसईई परीक्षा दिने परीक्षार्थीलाई हिमपात हुँदा चिसो बढेको छ भने चिसोले गर्दा लेख्न समस्या बनाएको छ । जिल्लाको बेँसीतिर पानी परिरहेको छ ।

उत्तरी नाम्खा गाउँपालिकामा बढी हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जिल्लामा बिहानदेखि हिमपात हुँदा तापक्रम माइनसमा झरेको छ । यस वर्षको एसइईमा जिल्लाबाट ९५३ जना विद्यार्थी परीक्षामा नियमित सहभागी छन् ।

जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो ।