आजदेखि काठमाडौंका सडक ब्रुमरले बढार्ने

होमल्याण्ड खबर

२०७५ चैत्र १२ गते, मंगलवार ११:११ मा प्रकाशित

काठमाडौं महानगरपालिकाले आज मंगलबारदेखि नयाँ ब्रुमर (यान्त्रिक कुचो) मार्फत सडक सफा गर्ने भएको छ ।

इटाली कम्पनीबाट साढे १० करोड रूपैयाँको लागतमा भित्राइएका पाँच ब्रुमरले दरवारमार्ग, जमल, कान्तिपथ, नयाँ बानेश्वर, लाजिम्पाट, नारायणहिटी, न्युरोड, कालीमाटी, ठमेललगायत क्षेत्रको सडकका धुलो सफा गर्नेछन् ।

मेयर विद्यासुन्दर शाक्यले विभिन्न प्रस्तावित ५ वटा रुटमा प्रयोग गर्ने गरी ब्रुमरको उद्घााटन गर्न लागेका हुन् ।

झण्डै ११ करोड रुपैयाँ खर्चिएर महानगरपालिकाले ल्याएका ब्रुमरले टेकुलाई केन्द्र बनाएर ५ वटा रुटमार्फत रिंगरोडभित्र सफाइको काम गर्नेछन् ।

पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा ६ टन क्षमताको छ ।

यी ब्रुमरहरु यूरो ४ स्टान्डर्डका हुन् । यसमा पानी र धुलो दुई ट्यांकीहरु छन् । धुलो टिपेपछि ब्रुमरले पानी पनि छर्किन मिल्छ ।

यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गरिँदै आएको थियो । यसअघि रहेको एक ब्रुमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको पनि महानगरपालिकाले जनाएको छ ।

नयाँ ब्रुमरले दिनमा १० किलोमिटरसम्मको धूलो संकलन गर्न सक्ने क्षमता राख्छन् । यसमा अगाडि, बीचमा र पछाडि भागको दायाँबायाँ गरी प्लास्टिकका चार ब्रससहित धूलो तान्न सक्ने शक्तिशाली मेसिन जडान गरिएको छ ।