९ मंसिर २०८१, आईतवार
गुणस्तरहिन भएपछि पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको टेकु–कालीमाटी पुल भत्काउनुपर्ने भएको छ । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गुणस्तरहीन निर्माण सामाग्री प्रयोग भएको भेटिएकाले पुल भत्काउनु पर्ने बताएका छन् ।
गुणस्तरहीन सामाग्री प्रयोग गरेको पाइएपछि रोक्न निर्देशन दिँदा पनि प्राविधिक नै नराखी ढलान गरेको संसदको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री महासेठले बताए ।
‘हामीले पुल निर्माण रोक्न लिखित रुपमा निर्देशन दिएका थियौं। तर, उहाँहरुले त्यो निर्देशनलाई लत्याएर रातारात सरकारी प्राविधिक समेत नराखी पुल ढलान गर्नुभयो,’ महासेठले भने, ‘सिस्टम अनुसार ढलान गर्नुभन्दा अघि हाम्रा प्राविधिकलाई राखेर काम गर्नुपर्र्छ ।
पुल भत्काएर सोही कम्पनीले निर्माण गर्ने बताउँदै त्यसका लागि कानुनी प्रकृया समेत अघि बढाएको उनले बताए ।
निर्माण सम्पन्न भए पनि ६२ मिटर लामो पुल प्राविधिक हिसाबले अत्यन्तै कमजोर पाइएकाले सरकारले नै संचालनमा रोक लगाएको छ । बनिसकेको पुलबाट गाडी गुडाउन निषेध गरिएको हो ।
पुल गतिलो नभएपछि सडक विभागले महानगरीय ट्राफिक प्रहरी कार्यालयलाई जतिसुकै बेला भत्कन सक्ने भन्दै संचालनमा रोक लगाउन पत्राचार गरेको थियो । एसियाली विकास बैक (एडिबी) को २० करोड १३ लाख ऋण सहयोगमा पुल निर्माण गरिएको हो। २०७४ मंसिरमा सम्पन्न गर्ने गरी २०७१ सालमा पप्पु कन्स्ट्रक्सनसँग पुल निर्माण सम्झौता भएको थियो। तर, कम्पनीले एक वर्ष ढिला गरी काम सकेको थियो ।