९ मंसिर २०८१, आईतवार
अर्थिक समृद्धिको लागि आयोजना गर्न लागिएको सम्मेलनको तयारी पूरा भएको सरकारले बताएको छ ।
बुधबार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले चैत्र १५ र १६ गते राजधानीमा हुने सम्मेलनको तयारी पूरा भएको जानकारी दिएका हुन् ।
सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपाल स्थिति विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था, नेपाली निजीक्षेत्र, गैर-आवसीय नेपाली तथा स्वदेशी लगानीकर्ता लगायतको सहभागिता रहने अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले जानकारी दिए ।
साथै सम्मेलनमा करिब १२ वटा विभिन्न समझदारीपत्रमा हस्ताक्षरको तयारी गरिएको छ।
सम्मेलनलाई लक्षित गरेर सरकारले सार्वजनिक निजी साझेदारी तथा लगनी ऐन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउनुका साथै विशेष आर्थिक क्षेत्र ऐनमा संशोधन समेत गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सम्मेलनमा लगानी वोर्डले कृषि, जलविद्युत, उद्योग पर्यटन, यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्र सम्वन्धी सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरेर ७७ वटा परियोजना प्रस्तुत गर्नेछ।
सम्मेलनमा म्यानमारका लगानी तथा विदेश आर्थिक सम्वन्ध मन्त्री यू थाउङ टुन, विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, एशियाली विकास बैंकका उपाध्यक्ष सिजन चेन, विश्व बैंक अन्तर्गतको बहुपक्षीय लगानी प्रत्याभूति सम्वन्धी निकायका उपाध्यक्ष तथा प्रमुख कार्यकारी केईको होण्डा, अन्तराष्ट्रिय वित्त निगमका आर्थिक तथा निजी क्षेत्र विकाससम्वन्धी उपाध्यक्ष हान्स पिटर लंकेस, एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसंचालन सम्वन्धी उपाध्यक्ष डोङ ली तथा माईक्रोसफ्ट, अमेजन, पावर चाइना, चाइना रेलवे, लगायतका कम्पनी सहभागी हुने जनाइएको छ ।