३० फाल्गुन २०८२, शनिबार
एसईई परीक्षाको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि ७७ जिल्लाकै प्रश्नपत्र आजै रुजु गर्न लगाइएको छ ।
शुक्रबार शिक्षामन्त्री गिरिाजमणि पोखरेलको निर्देशनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।


बैठकले देशभरका १ हजार ९ सय ६९ वटै परीक्षा केन्द्रका लागि पठाएका प्रश्नपत्र जिल्ला परीक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वा उसले तोकेको अधिकारीको रहोबरमा ४ घण्टा भित्र रुजु गरी रिपोर्ट पठाउन निर्देशनसमेत दिएको छ।
साथै प्रदेश २ मा बिहीबार र शुक्रबार प्रश्नपत्र बाहिरिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले अनुसन्धान गर्ने भएको छ।
सामाजिक सञ्जालबाट बिहीबार विज्ञान र शुक्रबार सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएको भेटिएपछि सिआइबीको टोली पठाएको हो।
यता प्रश्नपत्र बाहिरिएलगत्तै एसईई दिने विद्यार्थीले भने प्रदेश २ का सबै जिल्लामा आन्दोलन चर्काएका छन्।
प्रश्नपत्र बाहिरिएको विषयमा ७७ जिल्लाबाटै अनुगमन रिपोर्ट आएपछि राष्ट्रिय परीक्षा बोर्डको बैठक साँझ ६ बजे बस्ने समेत जनाइएको छ ।