चीनमा आईफोनको मूल्य घट्यो

होमल्याण्ड खबर

२०७५ चैत्र २० गते, बुधबार १२:०८ मा प्रकाशित

एजेन्सीः एप्पल कम्पनीको आईफोनको मुल्य चिनमा घट्दो क्रम जारी छ । एप्पलले आधिकारिक चिनियाँ अनलाईन स्टोरमा आफ्ना केही महत्वपूर्ण उत्पादनहरुको मूल्यमा ६ प्रतिशतले कटौती गरेको हो।

मूल्य कटौतीका उत्पादनहरुमा आईफोन, आईप्याड, म्याक एयरपोड रहेका एप्पलको चीनमा रहेको अनलाईन स्टोरले जनाएको छ । चीनमा भएको कर परिवर्तनको प्रतिक्रिया स्वरुप यो कटौती गरिएको हो । नयाँ परिवर्तनले एप्पल जस्ता म्यानुफ्याक्चररलाई भ्याट कम गराउने काइसिनले जनाएको छ ।

२०१८ को चौथो त्रैमासिक अवधिमा कम्पनीले आम्दानीमा ५ देखि ९ अर्ब डलरसम्मको गिरावट आएको बताएको केही महिनापछि यो कटौती गरिएको हो ।

चीन, हङकङ ताइवानमा आईफोनको माग र बिक्री दुवै ओरालो लागेपछिको समयमा एप्पलको आम्दानीमा पनि गिरावट आएको हो । सुरुवाती तहको आईफोन एक्सआरको मूल्य ६ हजार १९९ युआन पर्छ । यो मार्च २९ को तुलनामा ४.६ प्रतिशतले कम हो ।