९ मंसिर २०८१, आईतवार
ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपालका लागि जर्मनका राजदूत रोलान्ड सेफरबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरवारस्थित उर्जामन्त्रालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटका क्रममा उर्जामन्त्री पुनले भर्खरै मात्र सम्पन्न भएको लगानी सम्मेलन ऐतिहासिक रहेको भन्दै अव कार्यान्वयन प्रक्रियाको थालनी चाँडै हुने बताए । मन्त्री पुनले भने, ‘स्माटर मिटर र स्माट ग्रिड सरकारको प्राथमिकतामा छ, काठमाडौंमा भुमिगत केवलिङको कामसमेत सुरु भइसकेको छ ।’
पुनले जर्मनीले वैकल्पिक उर्जाको क्षेत्रमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग रहने विश्वास गरेका छन् ।
सोही भेटका क्रममा जर्मन राजदूत सेफरले पनि उर्जा र वैकल्पिक उर्जाको क्षेत्रमा सहयोग गर्न जर्मन ईच्छुक रहेको धारणा राखे । उनले स्मार्ट ग्रिडको अवस्थाका बारेमासमेत चासो व्यक्त गर्दै जर्मनी यसमा सहयोग गर्न तयार र आतुर रहेको बताएका छन् ।