३० फाल्गुन २०८२, शनिबार
काठमाडौंको लाजिम्पाटमा बिहीबार राति आगलागी हुँदा एक जनाको ज्यान गएको छ । आगलागीमा ४ जना घाइते भएका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीका अनुसार आगलागीमा परी ओखलढुंगाको पोखरी गाउँपालिका–२ का भेषबहादुर थापाको मृत्यु भएको हो । उनी ग्रुप फोर सेक्यूरिटी कम्पनी अन्तर्गत होटल शंकरमा सुरक्षागार्डको रुपमा कार्यरत थिए ।
नील सरस्वती मार्गमा रहेको धर्म महर्जनको ३ तले घरमा आगलागी हुँदा भाडामा बसेका थापाको मृत्यु भएको उनले बताए । घटनामा घाइते हुनेमा बर्दियाका विवेक शाही, उनकी श्रीमती गंगामाया शाहीसँगै चन्द्रमाया राई र बिना बस्नेत छन् । राई र बस्नेत उपचारपछि घर फर्किएका छन् भने शाही दम्पत्तिको उपचार भइरहेको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेका उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ । मध्यराति १२ बजेर ५ मिनेट जाँदा विद्युत् सर्ट भइ आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले बतायो ।

