कर्णाली राजमार्गमा यात्रुहरु अलपत्र

होमल्याण्ड खबर

२०७५ चैत्र २४ गते, आईतवार १०:४९ मा प्रकाशित

शनिबार बेलुकाको भारी असिना वर्षाले आएको बाढी र पहिरोले कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएपछि यात्रुहरु अलपत्रमा परेका छन् ।

दैलखको दुल्लु नगरपालिकामा र कालिकोटको शुभकालिका गाउँपालिकाको दहीखोलामा गएको पहिरोले राजमार्गका विभिन्न खण्ड अवरुद्ध भएपछि यात्रुहरु अलपत्रमा परेका हुन् ।

दैलेखबाट गएको डोजरले शनिबार दहीखोलाको पहिरो हटाउन सकेन । पहिरो हटाउन नसक्दा काठमाडौं, नेपालगञ्ज र सुर्खेतबाट कर्णाली जाँदै गरेका यात्रुहरु दुई दिनदेखि अलपत्र परेका छन् ।

पानी बेलाबेलामा परिरहने र पहिरो पनि खसिरहने भएकाले बाटो खुलाउन समस्या भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिए ।

अवरुद्ध राजमार्ग खुलाउन आइतबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सडक डिभिजन कार्यालयका कर्मचारी लागिरहेका छन् ।