ट्राफिक नियममा कडाइः एकै दिनमा हजार भन्दा बढी सवारी चालक कारवाहीमा

होमल्याण्ड खबर

२०७५ चैत्र २५ गते, सोमबार १०:१८ मा प्रकाशित

 उपत्यकामा ट्राफिक नियममा कडाइ गरिएपनि विभिन्न कारणबाट नियम उल्लंघन गर्ने एक हजार ४ सय १४ जना सवारी चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट आइतबार मात्रै सो संख्याका सवारी चालकहरु ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा लेन उल्लंघन गर्ने १३५ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने १२० जना, मदिरा पिएर सवारी साधन चलाउने ७० जना, यस्तै अनावश्यक हर्न बजाउने ४३ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने २६ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने १३ जना सवारी चालक रहेका छन् ।

त्यस्तै उपत्यकाका बिभिन्न स्थानमा गरिएको चेकजाँचको क्रममा आइतबार ४४ जना ट्याक्सी चालक कारबाहीमा परेका छन् ।

यात्रुसँग बढी भाडा लिनको लागि मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने ट्याक्सी चालकलाई कारबाही गरिएको महाशाखाले जनाएको छ । यसैगरि अन्य शीर्षकमा ९४६ सवारी साधनका चालकलाई कारवाही गरिएको बताइएको छ ।