३० फाल्गुन २०८२, शनिबार
अछाममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
चट्याङबाट मृत्यु हुनेमा पञ्चदेवल बिनायक नगरपालिका–७ का प्रसाद रावलको १४ वर्षीय छोरा जनक रावल रहेको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार सोमबार राती करिब ७ बजेतिर घरमा बसिरहेको समयमा चट्याङ पर्दा उनको मृत्यु भएको हो ।
रावलको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल अछाम ल्याउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी जिल्लाको पञ्चदेवल विनायक नगरपालिका, वडा नं ४, ७ र ८ मा सोमबार परेको चट्याङ लागेर अन्दाजी वर्ष ३३ का धर्मेन्द्र रावल, वर्ष २७ का गोविन्द रावल, वर्ष ४५ का धर्म रावल, वर्ष १२ का रमेश रावल, वर्ष २२ की रेतुका रावल, एक वर्षीय बालक विप्लव रावल, वर्ष ५७ की उज्जा रावल, वर्ष १९ की सृजना रावल, वर्ष २३ की धिर्जा रावल, वर्ष २० का रघु रोक्का मगर, वर्ष २२ की कली रोक्का मगर तथा वर्ष १९ की सपना रोक्का मगर घाइते भएको र अन्य तीनजनाको पहिचान खुल्न नसकेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ ।
चट्याङ लागेर घाइते भएकाहरुको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ ।