आजबाट भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा

होमल्याण्ड खबर

२०७५ चैत्र २७ गते, बुधबार ०९:५१ मा प्रकाशित

नयाँ वर्षको चार दिनअगाडिदेखि पाँच दिनपछिसम्म गरी आठ रात नौ दिन मनाउने भक्तपुरको प्रसिद्ध बिस्काः अर्थात् बिस्केट जात्रा आज बुधबारबाट सुरु हुँदैछ ।

बुधबार बिहान भैरवनाथको पूजा गरी दिउँसो भैरवनाथ र भद्रकालीका रथ तानेर जात्रा सुरु हुने गुठी संस्थानले जनाएको छ ।

काठमाडौ उपत्यकाको विभिन्न जात्राहरु भन्दा फरक खालको महत्व राख्ने बिस्केट जात्राको पहिलो दिन भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु गरिन्छ । जात्रामा भैरवनाथको रथमा भैरवनाथ मूल देवता र बेताल देवतालाई विराजमान गराई पाँचतले मन्दिर प्राङ्गणबाट माथिल्लो र तल्लो क्षेत्रमा रथ तानेर लैजाने परम्परा छ ।

रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ । एकातिर ६ वटा र अर्कोतिर चारवटा मोटो डोरी राखेर युवाले रथ तान्ने चलन छ ।

जात्रा शान्तिपूर्ण बनाउनका लागि महानगरीय प्रहरी परिसर भक्तपुरले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सिभिल प्रहरी गरी एक हजार सुरक्षाकर्मी तैनाथ गर्ने भएको छ ।

जात्रा स्थलका निगरानीको लागि समेत विगत वर्षभन्दा सिसी क्यामेरा बढाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार जात्रा स्थलभरि जम्मा ४३ स्थानमा सिसी क्यामरा जडान गरिएको छ ।

सौरमास (वि.सं.) का आधारमा चल्ने बिस्काः जात्रा बिःसीत अर्थात् नागनागिन मरे भन्ने भावका आधारमा मनाइँदै आएको छ ।

सुरुको दिन अर्थात चैत्र २७ गते टौमढीमा रथ तानिने, चैत मसान्त अर्थात चैत्र ३० गते ल्यासिङ्खेलमा इन्द्रध्वजासहितको लिङ्गो उठाइने, वैशाख १ गते दिनभर लिङ्गो जात्रा गरी साँझ लिङ्गो ढालिने र वैशाख ५ गते टौमढीमा भैरवको रथ तानिन्छ । सो दिन भैरवको रथ तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देवतालाई मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुरुप पूजा गरी जात्रा सम्पन्न गर्ने परम्परा छ ।