अबको एक बर्ष भित्र मालपोत तथा नापी कार्यालयमा विचौलिया निषेध गर्छौं: मन्त्री पद्मा अर्याल

होमल्याण्ड खबर

२०७५ चैत्र २९ गते, शुक्रबार १६:१५ मा प्रकाशित

भूमि व्यवस्थापन, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले अबको एक बर्ष भित्र मालपोत तथा नापी कार्यालयमा विचौलियालाई निषेध गर्ने दावी गरेकी छन् ।

शुक्रबार नापी कार्यालय भक्तपुरले सुरु गरेको जेष्ठ नागरिक सहायता कक्षको उद्घाटन गर्न पुगेकी मन्त्री अर्यालले जनताको प्रत्यक्ष काम गर्न संस्थाले जनताको सम्पतिको सुरक्षा गर्न बिचौलियको निषेध गर्ने बताएकी हुन ।

उनले देशभरका मालपोत तथा नापी कार्यालयमा एक बर्ष भित्र नागरिक सहायता कक्ष स्थापना गरि सेवा प्रवाहलाई चुस्त बनाईने र डेढ बर्ष भित्र प्रविधिमैत्री कार्यालय बनाएर स्थानीय तहलाई हस्तान्तरण गर्ने योजना रहेको बताईन् ।

मालपोत र नापी कार्यालयमा ब्यापक भ्रष्टाचार हुने गरेको बताउँदै प्रविधिमैत्री कार्यालय बनाउन सुशासन कायम र राजस्व बृद्धिमा सहयोग पुग्ने मन्त्री अर्यालको भनाई छ ।

यी कार्यालयमा हुने गरेका भ्रष्टाचारले मन्त्रालयको नै बदनाम भएको उनको भनाई थियो । अब देशभरका १ सय ३१ वटा मालपोत र १ सय ३१ वटै नापी कार्यालयलाई नमुना कार्यालय बनाउन लागि परेको बताउँदै कलंकी कार्यालयबाट यसको थालनी गरेको बताईन् ।

सो क्रममा उनले भक्तपुरका नापी र मालपोत कार्यालयको गतिविधिको प्रत्यक्ष अवलोकन गरी सेवा प्रवाहबारे जानकारी लिएकी थिईन् ।