९ मंसिर २०८१, आईतवार
श्रीलंकामा ठूलो संख्यामा मानिसहरू हताहत हुनेगरी भएका शृङ्खलाबद्ध विस्फोटनपछि आज शोक मनाइँदैछ ।
देशका विभिन्न स्थानमा भएका गिर्जाघर र होटेलमा आइतबार बम आक्रमण हुँदा झन्डै तीन सय जनाको मृत्यु भएको थियो भने पाँच सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।
थप आक्रमण हुन नदिन तथा शंकास्पद व्यक्तिहरूमाथि छानबिन सुरु गर्न देशमा संकटकाल घोषणा गरिएको छ ।
राष्ट्रपति मैत्रिपाला सिरिसेनाको कार्यालयद्वारा सोमबार जारी वक्तव्यका अनुसार सोमबार रातिदेखि लागू हुनेगरी संकटकाल घोषणा गरिएको हो ।
राजधानी कोलम्बोमा रहेका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर (चर्च)मा आइतबार भएका शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या सोमबार मध्यान्हसम्म २९० जना पुगेको प्रहरीले जनाएको छ ।
घटनामा परी अन्य पाँच सय भन्दा बढी घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङख्या बढ्न सक्ने बताइएको छ ।
श्रीलंकाली सुरक्षा निकायहरूले घटनाका दोषीहरूको खोजी गर्न व्यापकरूपमा सुरक्षाकर्मी परिचालन गरेका छन् । प्रहरीका अनुसार विस्फोटनमा संलग्न भएको आशंकामा अहिलेसम्म २४ जनालाई पक्राउ गरिएको छ ।
घटनामा परेर ज्यान गुमाएका अधिकांश व्यक्तिको मंगलबार श्रीलङ्कामा अन्तिम संस्कार हुँदैछ ।