९ मंसिर २०८१, आईतवार
वैज्ञानिकहरूले एउटा नयाँ ग्रह पत्ता लगाएका छन् । ‘केप्लर–४७ डी’ नाम दिइएको उक्त नयाँ ग्रह पत्ता लगाउने टोलीमा नेपाली वैज्ञानिक पनि परेका छन् ।
नयाँ ग्रह खोजीमा संलग्न युनिभर्सिटी अफ टेक्सास, अर्लिङटनका भौतिकशास्त्र विभागका सुमन सत्याल पनि छन् । सत्याल नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासा) का वैज्ञानिक सल्लाहकारसमेत हुन् ।
नयाँ ग्रहको खोजी नेसनल एरोनोटिक्स एन्ड स्पेस एड्मिनिस्ट्रेसन (नासा), सान डीएगो युनिभर्सिटी, युनिभर्सिटी अफ टेक्सास, अर्लिङटन, युनिभर्सिटी अफ हवाईलगायतका वैज्ञानिकहरूले गरेका हुन् ।
यो खोजीबारेको अध्ययनपत्र गत बुधबारको ‘द एस्ट्रोनोमिकल जर्नल’ मा छापिएको छ ।
यो पृथ्वीभन्दा करिब ३ हजार प्रकाश वर्ष टाढा छ । यो ग्रहले दुइटा सूर्यको वरिपरिसमेत घुम्ने गरेको छ ।
यो ग्रहमा दुइटै सूर्य उदाउने र अस्ताउने गर्छन् । यो बाइनरी स्टार प्रणालीको वरिपरि ३ वटा ग्रह घुमिरहेका छन् । तीनवटा ग्रहले दुइटा सूर्यको वरिपरि घुमेको तथ्य पहिलो पटक पत्ता लगाएको हो ।
विशेषज्ञहरूका अनुसार सौर्यमण्डल भन्दा बाहिर करिब ४ हजार वटा ग्रहहरू पत्ता लागिसकेका छन् । ती ग्रहहरूको उपग्रह खोज्ने काम जारी छ ।