आजदेखि कलंकीमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागु

होमल्याण्ड खबर

२०७६ बैशाख २२ गते, आईतवार १६:०८ मा प्रकाशित

काठमाडौंको व्यस्त चोक मानिने कलंकीमा आइतबारबाट सवारी जामलाई न्यूनीकरण गर्न ‘पिक एण्ड ड्रप’ व्यवस्था लागु गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले अत्यधिक जाम हुने चोकका रुपमा रहेको कलंकीमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागु गरेको हो ।

‘पिक एण्ड ड्रप’ व्यवस्था लागु गरेसँगै अब कलंकी चोकमा बस रोक्न पाइनेछैन् । महानगरीय ट्राफिक प्रभाग कलंकीका प्रहरी निरीक्षक केशवराज भट्टका अनुसार अब कलंकी अण्डरपासको मुखमा रोकिँदै आएका सवारीसाधन खसीबजार र मकालु पेट्रोलपम्पको अगाडीमात्रै यात्रु चढाउन र ओराल्न पाउनेछन् । यस्तै थानकोट जाने लोकल बसहरु एलआरआइ जाने मोडको छेउमा, कालीमाटीबाट आउने सवारी साधन कलंकी मन्दिर र उपत्यका बाहिर जाने बसले ढुंगेअड्डामा मात्रै यात्रुलाई चढाउन र ओराल्न पाउनेछन ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउनका लागि उक्त व्यवस्था लागु गरेको जानकारी दिए । यसअघि पनि महाशाखाले रत्नापार्क, पुरानो बसपार्क, आरएनएसी, जमल, लैनचौर, कोटेश्वरलगायत अत्याधिक जाम हुने क्षेत्रमा ‘पिक एण्ड ड्रप’ व्यवस्था लागु गरिसकेको छ ।

पन्तका अनुसार उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि तीन महिने कार्ययोजना बनाएर काम समेत शुरु गरिसकेको छ । काठमाडौँ उपत्यकामा मात्र ११ लाखभन्दा बढी सवारी साधन सञ्चालनमा छन् ।