आज र भोलि मेघ गर्जनसहित वर्षा, सोमबारसम्म मौसमी अवस्था प्रतिकूल !

होमल्याण्ड खबर

२०७६ बैशाख २९ गते, आईतवार १०:३२ मा प्रकाशित

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) र भोलि सोमबारसम्म मुलुकका विभिन्न स्थानमा हावाहुरी र चट्याङसहित वर्षा हुने जनाएको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान मशाखाका अनुसार सोमबारसम्म मौसमी अवस्था प्रतिकूल हुने भएको हो ।

आइतबार बिहानैदेखि विभिन्न स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको केन्द्रद्वारा जारी सूचनामा जनाइएको छ । यस्तो अवस्था आइतबार र सोमबार पनि रहनेछ । आइतबार आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आइतबार राति पनि देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

यस्तैगरी, सोमबार बिहानैदेखि देशभरि आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानमा र मध्य र पूर्वका धेरै स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै सोमबार राति पनि मुलुकभर आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानमा र मध्य र पूर्वका धेरै स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।