स्थानीय तहले केन्द्र सरकारसँग मागे १० हजार कर्मचारी

होमल्याण्ड खबर

२०७६ बैशाख ३१ गते, मंगलवार ११:३४ मा प्रकाशित

स्थानीय तहले केन्द्र सरकारसँग १० हजार कर्मचारी माग गरेका छन्। कर्मचारी अभावका कारण नियमित कामसमेत प्रभावित भएको गुनासो गर्दै आएका स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग १० हजार चार सय ९२ कर्मचारी माग गरेका हुन्। 

यही वैशाख पहिलो साता मन्त्रालयले आवश्यकताबमोजिम कर्मचारीको माग पठाउन स्थानीय तहलाई पत्राचार गरेको थियो। वैशाख २० सम्म ४३७ स्थानीय तहबाट १० हजार ४९२ कर्मचारीको माग आएको मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले बताए। मन्त्रालयका अनुसार स्थानीय तहले माग गरेका कर्मचारीको पूर्तिका लागि लोकसेवालाई पत्राचार गरिएको प्रवक्ता तामाङले बताएको समाचार नयाँ पत्रिका दैनिकमा छ। उनका अनुसार बाँकी स्थानीय तहले पनि कर्मचारी माग गरिरहेका छन्।

सरकारले स्थानीय तहका लागि ६६ हजार ९०८ दरबन्दी स्वीकृत गरेको छ। स्थानीय तहले हाल स्वीकृत दरबन्दीको झन्डै आधा संख्यामा मात्र कर्मचारी पाएका छन्।