अवरुद्ध मेलम्चीको काम अगाडि बढाइने

होमल्याण्ड खबर

२०७६ जेष्ठ १ गते, बुधबार १६:०७ मा प्रकाशित

खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले हाल अवरुद्ध रहेको बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काम अगाडि बढाउन विशेष प्रस्ताव अगाडि बढाउने भएकी छन् ।

बुधबार प्रतिनिसभाको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सम्पन्न गर्ने विषयमा आगामी मन्त्रिपरिषदको बैठकमा आफूले विशेष प्रस्ताव पेश गर्ने बताइन् ।

समितिको बैठकबाट मेलम्ची खानेपानी आयोजनाका काम तत्काल अगाडि बढाउन निर्देशन दिइएपछि मन्त्री मगरले आफूले आगामी मन्त्रिपरिषदको बैठकमा यसबारे विशेष प्रस्ताव पेश गर्ने बताएकी हुन् ।

यसबीचमा मेलम्चीको समस्या समाधानका लागि आफूले विभिन्न निकायसँग छलफल गरेको जनाउँदै अवरुद्ध रहेको काम तत्काल शुरु गर्न आफूले मन्त्रिपरिषदमा विशेष प्रस्ताव पेश गर्न लागेको मन्त्री मगरको भनाइ छ ।