त्रिशुलीमा बस खस्दा मृत्यु हुनेको संख्या ७ पुग्योः नामसहित (अपडेट)

होमल्याण्ड खबर

२०७६ जेष्ठ ५ गते, आईतवार १३:२५ मा प्रकाशित

झापाको काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या ७ पुगेको छ । यस्तै, दुर्घटनामा झन्डै ३० जना घाइते भएका छन् ।

धादिङको गजुरी गाउँपालिका–६ बाट ना ७ ख ४३८७ नम्बरको यात्रुबहाक बस आज बिहान त्रिशुली नदीमा खसेको थियो ।

दुर्घटनामा ४ जनाको घटनास्थलमै, १ जनाको गजुरी अस्पतालमा र २ जनाको राष्ट्रिय ट्रमा सेन्टर महांकाल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, मृत्यु हुनेमा ईलामका विशाल गिरी, काठमाडौंका राज कुमार सुवेदी, सिता थपलिया, प्रकाश श्रेष्ठ, शेखर मगर र धादिङका राजन आचार्य रहेका छन् ।

यस्तै एक जनाको सनाखत भएको छैन ।

घाइते भएका मध्ये १७ जनाको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचार भैरहेको छ भने अन्य घाइतेहरुको गजुरी र धादिङका अस्पतालहरुमा उपचार भइरहेको छ ।