जिल्ला प्रशासन कार्यालय अगाडी पत्रकारहरु विरोध स्वरुप रुँदै धर्नामा

होमल्याण्ड खबर

२०७६ जेष्ठ ५ गते, आईतवार १६:२७ मा प्रकाशित

जिल्ला प्रशासन कार्यालय मोरङको गेट अगाडी पत्रकारहरुले विरोध स्वरुप रुँदै धर्ना दिएका छन् ।

सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धि बिधेयक फिर्ता गर्नुपर्ने आन्दोलनका कार्यक्रम अनुसार पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय अगाडी रुँदै धर्ना दिएका हुन् ।

नेपाल प्रेस युनियनको आयोजनामा धर्नामा बसेका पत्रकाहरुले सरकारले ल्याएको बिधेयक फिर्ता गर्न माग समेत गरे । धर्नापछि कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष लिलाबल्लभ घिमिरेले बिधेयक पत्रकारलाई नियमन गर्नभन्दा पनि नियन्त्रण मुखी भएर आएको आरोप लगाए ।

उनले पत्रकारलाई थुन्नु नै पर्छ भन्ने उदेश्यले अभिप्रेरित भएर मिडिया काउन्सिल सम्बन्धि बिधेयक आएकोले तत्काल यो बिधेयक फिर्ता गर्न माग गरे ।

त्यस्तै कार्यक्रममा नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष बिक्रम लुईटेलले मिडिया काउन्सिल सम्बन्धि विधेयकमा ल्याईएको जरिवाना सम्बन्धि ब्यवस्था नै गलत भएको बताए । यनले कुन कसुरमा कस्तो दण्ड भन्ने स्पष्ट ब्यवस्था नभएको बताए ।