हुवावे फोनमा जिमेल, गुगल म्याप, युट्युब चलाउन नमिल्ने !

होमल्याण्ड खबर

२०७६ जेष्ठ ६ गते, सोमबार १२:१४ मा प्रकाशित

गुगलले चिनियाँ टेलिकम जाइन्छ हुवाईसँगको सम्बन्ध तोडेको छ । अब हुवाई फोनको एन्ड्रोइड अपरेटिङ्ग सिस्टम अपडेट नहुने भएका छन् । हुवाईका नयाँ फोनहरुले गुगलका चर्चित एप्लिकेशनमा पहुँच पाउने छैनन् ।

गुगलको यो निर्णयसँगै विश्वको तेस्रो ठूलो स्मार्ट फोन निर्माता हुवावेले अब बनाउने फोनमा गुगलका प्लेस्टोर, जिमेल, गुगल म्याप र युट्युब एपहरू राख्न पाउने छैन ।

अमेरिका र चीनबीच जारी व्यापार युद्ध र पछिल्लो समय राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरूले कारोबार गर्न नपाउने विदेशी कम्पनीको सूचीमा हुवावेलाई राखेपछि गुगलले यस्तो निर्णय गरेको हो । ट्रम्प प्रशासनले अमेरिकी कम्पनीसँग कारोबार गर्न हुवावेले लाइसेन्स लिनु पर्ने सर्त राखेको छ ।

गुगलले विज्ञप्ति जारी गर्दै अमेरिकी सरकारको निर्देशनको पालना गरेर त्यसको कार्यान्वयनको समीक्षा गरिरहेको जनाएको छ ।

हुवावेले गुगलको पछिल्लो निर्णयबारे कुनै प्रतिक्रिया दिएको छैन।

गुगलको यस्तो निर्णयपछि हुवावेका अहिलेका प्रयोगकर्ताले गुगल प्ले, जिमेल, म्याप, युट्युब लगायत एप प्रयोग गर्न पाउने छन् । तर त्यसमा नयाँ र सुरक्षा अपडेट भने गर्न मिल्ने छैन ।

गुगलको एन्ड्रोइड अपरेटिङ सिस्टममा अपडेट गर्न नमिल्ने भएपछि चीनबाहिरका हुवावे प्रयोगकर्तालाई समस्या हुने देखिएको छ ।

गुगलले थप केके सेवा हुवावेलाई नदिने भन्नेबारे आन्तरिक छलफल गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।