प्रधानमन्त्री ओलीद्वारा अप्टिकल फाइबर बिच्छ्याउने अभियानको सुरुवात

होमल्याण्ड खबर

२०७६ जेष्ठ ६ गते, सोमबार १६:३७ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले धादिङको गल्छीमा साबेलले माटो फालेर अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास गरेका छन् ।

नेपाल टेलिकमले यो योजना अघि बढाएको हो । मध्यपहाडी लोकमार्गबाट जिल्ला सदरमुकामहरुलाई सूचनाप्रविधि पहुँचमा जोड्न यो योजना सुरु गरिएको हो । यो योजनाअनुसार प्रदेश १, २ र ३ को मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण बिस्तार गरिनेछ ।

अप्टिकल फाइबर बिछ्याउन नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषबाट बजेट उपलब्ध गराउने टेलिकमले जानकारी दिएको छ । नेपाल टेलिकमले पूर्वमा पाचँथरको चिवाभञ्ज्याङदेखि मध्यमा गोरखाको आरुघाटसम्म २ हजार १ सय ७९ किलोमिटर अप्टिकल फाइबर नेटवर्क विस्तार गर्न लागेको टेलिकमले जानकारी दिएको छ ।