कोरियन (ईपीएस) भाषा परीक्षाको केन्द्र तोकियो

होमल्याण्ड खबर

२०७६ जेष्ठ ८ गते, बुधबार १३:५४ मा प्रकाशित

सन् २०२० मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत रोजगारीमा जान दक्षिण कोरियाको भाषा परीक्षाको आवेदन दिएका आवेदकका लागि परीक्षा केन्द्र तोकिएको छ।

यही जेठ २५ र २६ गते सञ्चालन हुने कोरिया भाषा परीक्षाका लागि आवेदन दिएका परीक्षार्थीका लागि ३२ वटा परीक्षा केन्द्र तोकेको छ।

यस पटकको भाषा परीक्षा सञ्चालन गर्नका पोखरामा चारवटा, ललितपुरमा सातवटा र काठमाडौं जिल्लामा २१ वटा भाषा परीक्षा केन्द्र तोकिएको ईपीएस कोरिया शाखाले जनाएको छ।

ईपीएस कोरिया शाखाका अनुसार आउँदो वर्षका लागि औद्योगिक तथा उत्पादनतर्फ सात हजार ५० जना र कृषितर्फ तीन हजार युवालाई रोजगारीका लागि लैजाने भएको छ।

सन् २०२० मा ईपीएसमार्फत रोजगारीमा जानका लागि कोरिया भाषा परीक्षामा सहभागी हुनेले गएको चैत ८ गतेदेखि १७ गतेसम्म अनलाइन आवेदन दिएका थिए।