पाँचथरको सामूहिक हत्या प्रकरणः गृहमन्त्री बादलद्वारा सत्यतथ्य पेस गर्न सुरक्षा निकायलाई निर्दशन

होमल्याण्ड खबर

२०७६ जेष्ठ ८ गते, बुधबार १६:२७ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापा बादलले पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पर्ने आरुबोटेमा भएको सामूहिक हत्याकाण्डको अनुसन्धान गरेर यथाशक्य सत्य(तथ्य पेस गर्न सुरक्षा निकायलाई निर्देशन दिएको बताएका छन् । बुधबार राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग सार्वजनिक महत्वको विषयमा समय माग गरेर सामूहिक हत्याकाण्डका बारेमा सदनलाई जानकारी गराउँदै घटनाको अनुसन्धान गरेर सत्यतथ्य पेस गर्न सुरक्षा निकायलाई निर्देशन दिएको बताएका हुन् ।

उनले आगामी दिनमा यस्ता जघन्य अपराध हुन नदिन पनि सुरक्षा निकायलाई सजग र सचेत रहन गृह मन्त्रालयले निर्देशन दिएको जानकारी दिए । ‘‘सामूहिक हत्याकाण्डको अनुसन्धान जारी छ । घटनाको अनुसन्धान गरेर यथाशक्य सत्यतथ्य पेस गर्न मातहतलाई निर्देशन दिइएको छ,’’ । उनले मिक्लाजुङ गाउँपालिकाको सुरक्षा अवस्था सामान्य बनाइराख्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तैनाथ गरिएको पनि जानकारी दिए । थापाले हत्या गरिएका नौ जना र रुखमा झुण्डिएको अवस्थामा फेला परेका व्यक्ति गरी १० जनाको शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको बताए ।

उनले घटनामा ज्यान जोगाउन सफल १२ वर्षीया बालिका सीता खजुमको दमकमा उपचार भइरहेको राष्ट्रियसभालाई जानकारी दिए । गृहमन्त्री थापाले घटनामा धारिलो हतियार प्रयोग भएको जानकारी गृहमन्त्रालयले पाएको बताए । सोमबार राति आरुबोटेका धनराज शेर्मा लिम्बू र बमबहादुर फियाक लिम्बूको परिवारका नौ जनाको हत्या भएको थियो । धनराजको घरमा पाँचवटा र बमकुमारो घरमा चारवटा शव फेला परेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिएका छन् ।

लघु उधम प्रशिक्षकसमेत रहेकी स्थानीय अर्चना गुरुङका अनुसार धनराज बमबहादुरका छोरीज्वाँई हुन् । प्रहरीका अनुसार हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम खुल्न नसकेकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।

मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारी अनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।
यसैबीच बमबहादुरका कान्छा छोरीज्वाँई मानबहादुर माखिम सामूहिक हत्या गरिएको स्थानबाट झण्डै दुई घण्टाको पैदल दूरीमा पर्ने लिम्बा गाउँमा रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए । गृहमन्त्री थापाले माखिमको साथबाट एक थान खुकुरी फेला परेको बताएका छन् ।