१० मंसिर २०८१, सोमबार
नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले नेपालमा रेल ल्याउन गाह्रो हुने बताएकी छन् ।
उनले नेपालसम्म रेल मार्ग ल्याउन कठिन रहेको बताए पनि रेल ल्याउने कार्यमा चीन सरकार प्रतिबद्ध रहेको र नेपाल सरकारको तर्फबाट पनि सकारात्मक पहल भइरहेको बताइन् ।
बिहीबार काठमाडौंस्थित दूतावासमा पत्रकार सम्मेलन गर्दै उनले भनिन्, ‘राजनीतिक सहमति भयो भन्दैमा भोलि नै रेलवे लाइन बनिहाल्छ भन्ने छैन । यद्यपि रेल नेपालसम्म ल्याउन चिनियाँ सरकार पूरै प्रतिबद्ध छ ।’
राजदूत यान्छीले भनिन्, ‘नेपाल—चीन क्रस बोर्डर रेलवे धेरै महत्वपूर्ण छ । तर, यो धेरै कठिन छ । सहज छैन हामीलाई,’ ‘यो लामो समयको प्रोजेक्ट हो ।
तर, हामी निर्माणका लागि प्रतिबद्ध छौं ।’
यस विषयमा नेपाल सरकार, रेल विभागका अधिकारी र चिनियाँ टोलीबीच छलफल जारी रहेको जानकारी उनले दिइन् ।
कार्यक्रममा बोल्दै उनले भनिन्, ‘हामीले आफ्नो तर्फबाट तयारी जारी राखेका छौं । नेपालको तर्फबाट विस्तृत तयारी जारी रहोस् ।’