मुस्ताङको छोसेरमा टेलिकमको मोबाइल बीटीएस सञ्चालन

होमल्याण्ड खबर

२०७६ जेष्ठ १४ गते, मंगलवार १६:१६ मा प्रकाशित

नेपाल टेलिकमले हिमाल पारीको जिल्ला मुस्ताङको छोसेरमा जीएसएम मोबाइल बीटीएस सञ्चालनमा ल्याएको छ । एक कार्यक्रमका बीच मुस्ताङको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्ट र अन्य स्थानीय जनप्रतिनिधिका साथै नेपाल टेलिकमका कर्मचारीको उपस्थितिमा साइट सञ्चालनमा ल्याइएको हो । 

दुर्गम तथा विकट हुनुका साथै चीनको सीमानासम्म जोडिएका ती गाउँमा जीएसएम मोबाइल टावर स्थापनागरी जीएसएम मोबाइलको पहुँच पुर्याइएको हो । यसअघि सो स्थानमा कुनै पनि मोबाइल सेवाको पहुँच थिएन । अब उक्त भेगमा समेत टुजी तथा थ्रीजी मोबाइल सेवा सञ्चालनमा आएका छन् । 

उक्त मोबाइल सेवा सञ्चालन पश्चात समुद्र सतहदेखि करिब ४ हजार २ सय ७० मिटर उचाईमा अवस्थित सो क्षेत्रका ४ गाउँ गर्थु, न्याम्दो, चुङजुङ र कोरलाका १ सय ५० भन्दा बढी घरधुरी लाभान्वित हुनेछन् । सेवा सुचारु भएपछि यस क्षेत्रका जनता निकै उत्साहित भएका छन् । 

 स्थानीय  वासिन्दाले जीएसएम मोबाइलबाट डाटा चलाउन र फोन गर्न सक्नेछन् । त्यसैगरी भ्रमणका लागि गएका आन्तरिक तथा बाह्य पर्यटकहरु समेत लाभान्वित हुनेछन् ।
दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो ।