जसले रङ्गशाला भत्काए पनि कारवाही हुनुपर्छः मन्त्री दोर्जे लामा

होमल्याण्ड खबर

२०७६ जेष्ठ १६ गते, बिहीबार १३:५२ मा प्रकाशित

प्रदेश नं ३ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले चितवनको निर्माणाधीन रङ्गशाला भत्काउनेलाई कारवाही हुनुपर्ने बताएका छन् ।

मानव सेवा आश्रममा आज आयोजित कार्यक्रममा बोल्दै मन्त्री लामाले पवित्र उद्देश्यसहित निर्माण प्रारम्भ भएको रङ्गशाला भत्काउने व्यक्ति जो कोही भएपनि सच्चा देशभक्त हुन नसक्ने धारणा राखे ।

मन्त्री लामाले चितवनको घटनापछि धुर्मुस–सुन्तली फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसको प्रतिक्रिया हेरेर आफू भावुक भएको भन्दै ऊर्जाशील व्यक्तित्वको मन दुखाएर विकासका काम रोकेर समाजमा नकारात्मक सन्देश जाने बताए ।

यसैगरी कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले गणतन्त्र प्राप्तिमा योगदान दिनेहरुको कदर गरिनुपर्ने बताए ।