आज विश्व धुम्रपानरहित दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

होमल्याण्ड खबर

२०७६ जेष्ठ १७ गते, शुक्रबार १०:२३ मा प्रकाशित

आज मे ३१ अर्थात विश्व धुम्रपानरहित दिवस । सुर्तिजन्य पदार्थले मानव स्वास्थ्यमा पार्ने नकारात्मक असरबारे सन्देश दिँदै आज विश्वभर मनाइँदैछ ।

धुमपानका कारणले हुने क्षति न्युनिकरण र सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने उद्देश्यले विश्व स्वास्थ्य संगठनको आह्वानमा प्रत्येक वर्ष मे ३१ तारिखमा विश्वभर यो दिवस मनाइने गरिन्छ ।

‘सुर्तीजन्य पदार्थ वा फोक्सोको स्वास्थ्य’ भन्ने नाराका साथ विश्वभर मनाइँदै छ । नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।

सुर्ती र सुर्तीजन्य पदार्थ सेवनकै कारण हाल विश्वमा बर्सेनि ७० लाख मानिसको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

 सन् २०३० सम्म ८० लाख पुग्ने संगठनले जनाएको छ ।

संसारभरि हरेक दिन १५ अरब चुरोट किनबेच हुन्छ भने हरेक मिनेट एक करोड खिल्ली चुरोट बिक्री हुन्छ । विश्वमा हरेक आठ सेकेण्डमा एक जनाको मृत्यु सुर्ती सेवनकै कारणले हुन्छ ।

यस्तै हरेक १० जनामध्ये एक वयस्कको मृत्यु चुरोट सेवनले हुने गर्छ । सन् २०३० सम्ममा चुरोट सेवनले ६ मध्ये एकजनाको मृत्यु गराउने विश्वव्यापी पूर्वानुमान छ ।

नेपालमा भने बर्सेनि सुर्तीजन्य पदार्थकै कारण २७ हजारभन्दा धेरै मानिसको मृत्यु हुने गरेको सरकारी तथ्यांक छ ।

नेपालमा ५२ प्रतिशत पुरुष र १३ प्रतिशत महिला सूर्तीजन्य पदार्थको अम्मल रहेको पाइन्छ । धुमपानको धुवाँमा निकोटिन तथा टारको मात्रा दोब्बर हुने भएकाले स्वास्थ्यका लागि निकै हानिकारक मानिएको छ ।

चुरोट सुर्तीले खानेलाई मात्र नभएर यसको आसपासमा बस्नेलाई पनि असर गर्ने डाक्टरले बताउने गरेका छन् । धुमपान गर्नेहरूलाई मुटु, रोग, दम र क्यान्सर हुने सम्भावना बढी हुने गरेको छ ।