९ मंसिर २०८१, आईतवार
युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बेलुका लण्डन आइपुगेका छन् ।
बेलायती प्रधानमन्त्री टेरिसा मेको निमन्त्रणमा तीन दिने औपचारिक भ्रमणका लागि उनी बेलायत आएका हुन् ।
बेलायत भ्रमणको सुरुमै प्रधानमन्त्री ओलीले यहाँको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन गरेका छन् ।
अक्सफोर्डमा अध्ययनरत विद्यार्थीहरुको युनियन अक्सफोर्ड युनियनको आयोजनामा प्रधानमन्त्रीले नेपालको सफल शान्ति प्रक्रिया, प्रजातन्त्र, विकास तथा समृद्धिको लक्ष्य लगायतका विषयमा सम्बोधन गरेका हुन् ।
विमानस्थल उत्रिएलगत्तै प्रधानमन्त्री ओली हेलिकोप्टर चढेर अक्सफोर्ड विश्वविद्यालय पुगेका थिए ।
त्यहाँ उनले नेपालको शान्ति प्रक्रिया, प्रजातन्त्र तथा समृद्धिका लागि जारी प्रयत्नका विषयमा आफ्ना भनाई राखे ।
बेलायत आइपुगेको प्रधानमन्त्रीको २० सदस्यीय भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्यसंगै परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, परराष्ट्रसचिव शंकरदास वैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईलगायत छन् ।