जनताले सांसद बनाए, अदालतले कैदी बनायो, सरकारले साङ्लो लगायो

होमल्याण्ड खबर

२०७६ असार ८ गते, आईतवार ०७:१८ मा प्रकाशित

अस्पताल भर्ना गरेपछि सामान्यतया कुनै पनि कैदीबन्दीलाई नेल–हत्कडी लगाइँदैन । तर, फोक्सो र बोनम्यारोमा समस्या देखिएर थलिएका निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा भर्ना गर्दा भने प्रहरीले खुट्टामा फलामे साङ्लो लगायो ।

कारागार व्यवस्थापन नियमावलीविपरीत नेल लगाइएपछि प्रधानमन्त्री केपी ओलीले नेल खोल्न र संलग्न कर्मचारीमाथि कारबाही गर्न निर्देशन दिए । यसलगत्तै कर्मचारी तथा प्रहरीमाथि कारबाही प्रक्रिया पनि सुरु भएको छ ।

टीकापुर हत्या प्रकरणमा अदालतबाट दोषी ठहर भई जन्मकैद सजाय पाएका चौधरीलाई बिहीबार वीर अस्पतालमा भर्ना गरिएको थियो ।

बेडमा रहँदासमेत उनलाई नेल लगाइएको थियो । चौधरीको नेलसहितको तस्बिर बाहिरिएपछि यसबारे चर्चा सुरु भएको थियो ।

यो चरम अमानवीय व्यवहार भएको भन्दै जेल र प्रहरी प्रशासनको आलोचना भएको थियो । प्रहरी अधिकारीहरूले भने चौधरी भाग्न सक्ने कारण देखाएर नेल लगाइएको बताएका छन् । यो समाचार आजको नयाँ पत्रिकाले पहिलो पृष्ठमा छापेको छ ।