असारमै आउने भयो पाइपबाट पेट्रोल

होमल्याण्ड खबर

२०७६ असार ९ गते, सोमबार ११:५६ मा प्रकाशित

भारतबाट नेपालमा यही असार महिनामै पाइपलाइनबाट पेट्रोल आउने भएको छ ।

परीक्षणको क्रममा नेपाल आयल निगम र इण्डियन आयाल कर्पोरेशनका प्राविधिकको संयुक्त टोलीले भारतको मोतिहारीबाट सो पाइपलाइनमा पानी पठाएर गरेको परीक्षण सफल भएपछि अब निकट भविष्यमै उक्त पाइपलाइन सञ्चालनमा आउने परियोजना कार्यालय सिमराले जनाएको छ ।

पेट्रोलियम पाइपलाइनको सफल परीक्षण भएपछि यसै असारभित्रै सो पाइपलाइन सञ्चालनमा आउन सक्ने प्राविधिकले आँकलन गरेका छन् ।

नेपालको लाइफ लाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म ७०.२ किलोमिटर लम्बाइको सो पाइप लाइन बिछ्याउने काम पूर्णरुपमा सम्पन्न भई पाइपमार्फत पठाएको पानीको प्रेसर बाराको अमलेखगञ्जसम्म सफलरुपमा आइपुगेकाले परीक्षण सफल भएको प्राविधिकले जनाएका छन् ।

उक्त पाइपलाइन सञ्चलनमा आएपछि पहिलो चोटी भारत विहारको राजधानी पटनाबाट मोतिहारी रक्सौल हुँदै अमलेखगञ्जसम्म डिजेल ल्याउने पेट्रोलियम पाइपलाइन विस्तार आयोजना सिमराले जानकारी दिएको छ ।