९ मंसिर २०८१, आईतवार
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले सरकारले सुरङ मार्गलाई विशेष प्राथमिकता दिएको बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक अन्र्तगत भौतिक पूर्वाधार तथा यातायात शीर्षकमाथिको छलफलका क्रममा सांसदहरुबाट आएको प्रश्नको जवाफ दिँदै मन्त्री महासेठले सरकारले सुरङ मार्गलाई विशेष प्राथमिकतामा राखी अध्ययनका लागि मात्रै ५९ करोड रुपैयाँ छुट्याएको जानकारी दिए ।
उनले विकास र पुर्वाधार निर्माण सम्बन्धमा आवश्यकता अनुसार बजेट विनियोजन गरिएकाले पानी जहाजका लागि सोहीअनुसार बजेट राखिएको बताए । सांसदहरुले पानी जहाजका लागि विनियोजन गरिएको रकम कम भएको भन्दै त्यसबारे जिज्ञासा राखेका थिए ।
जवाफका क्रममा मन्त्री महासेठले बाहिरी चक्रपथको डीपीआर निर्माणका लागि चार करोड रुपैयाँ छुट्याइएको जानकारी गराए । उनले ९१ प्रतिशतभन्दा बढी पुराना क्रमागत योजनाहरुलाई नै प्राथमिकता दिएकाले नयाँ योजना धेरै नभएको स्पष्ट पारे ।
उनले अन्य क्षेत्रगत रुपमा निर्माण रोकिएका सडक र पुल निर्माणको कामलाई यथासम्भव छिटो सम्पन्न गराउनेतर्फ मन्त्रालय गम्भीर रहेको स्पष्ट पारे । पुराना आयोजना छुटेका भए जानकारी अनुसार समावेश गरिने प्रतिवद्धता पनि उनले जनाएका छन् ।