एसइई नतिजा आजै सार्वजनिक गर्ने तयारी, बोर्डले निर्णय लिन्छः परीक्षानियन्त्रक

होमल्याण्ड खबर

२०७६ असार ११ गते, बुधबार १०:३८ मा प्रकाशित

माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा बुधबार या बिहीबार सार्वजनिक गर्ने तयारी भएको छ । नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । 

बोर्डअन्तर्गत रहेको परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि सम्पूर्ण तयारी सकिएको र पुनः परीक्षणको कामसमेत अन्तिम चरणमा पुगेको छ । ‘बुधबार राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेर बुधबारै या बिहीबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी तयारी भएको छ,’ परीक्षानियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए । 

विगतमा जेठ मसान्तदेखि १–२ असारभित्रै एसइईको नतिजा प्रकाशन हुने गर्थ्यो । तर, यस वर्ष प्रदेश २ मा प्रश्नपत्र बाहिरिएर पुनः परीक्षा सञ्चालन गर्नुपर्दा र जनशक्ति अभावले ढिला भएको बोर्डले जनाएको छ । 

प्रदेश २ बाहेक सबै ठाउँमा १०–२१ चैतसम्म परीक्षा सञ्चालन भएको थियो । प्रदेश २ मा भने बाँकी विषयको २२ देखि २९ चैतसम्म पुनः परीक्षा भएको थियो ।