२ चैत्र २०८२, सोमबार
नेपालमा मनसुन सुरु भएसँगै मंगलबार परेको चट्याङले रुपेन्देही र दाङमा ठुला जनधनको क्षति पुर्याएको छ । चट्याङमा परी ६ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । रुपन्देहीमा ३ र दाङमा ३ गरी जम्मा ६ जनाको मृत्यु भएको छ । चट्याङमा परी रुपन्देहीको सैनामैनाको आमीमा ६२ बर्षका चन्द्रबहादुर बिक, कञ्चन गाउँपालिका वडा नं २ फुलबारीका ६० बर्षका नन्दराम अर्याल र गैडहवा गाउँपालिका वडा ७ वर्बदैयाका २५ बर्षका भागवत दास लोधको मृत्यु जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घर नजिकै गाईबस्तु चराउने क्रममा अर्यालको चट्याङ लागि मृत्यु भएको प्रहरीले बताएको छ । लोधको भने तरकारी बारीमा जाने क्रममा चट्याङ लागेर मृत्यु भएको हो ।
त्यसैगरी त्यस्तै चट्याङ लागेर दाङमा ३ जना बालबालिकाको मृत्यु भएको छ । मंगलबार साँझ साढे ६ बजे परेको चट्याङ लागेर राप्ती गाउँपालिका ३ मौरीघाटका १३ वर्षका साजन चौधरी, ११ वर्षका रमित चौधरी र ११ वर्षकै बिनाश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै चट्याङ लागेर बिनाशका भाइ ८ वर्षका अविनाश चौधरी गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

