२ चैत्र २०८२, सोमबार
आज असार १५, नेपाली कृषकहरुको महत्वको दिन । ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्युनीकरण’ भन्ने नाराका साथ आज १६ औं राष्ट्रिय धान दिवस मनाइँदैछ ।
कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा वि.सं.२०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन सुरु गरिएको हो ।


कृषि विभाग अन्तर्गत गठित सोह्रौ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, मूल आयोजक समितिले आज बर्दियामा धान दिवसको विशेष कार्यक्रम समेत आयोजना गरेको छ ।
नेपालमा असार १५ का दिन हिलो टेक्नु पर्ने मान्यता छ ।
यस दिन रोपाइलाई पर्वको रुपमा मनाइने हुँदा खेतको हिलोमा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ । हल गोरुले हिल्याएको हिलोमा धान रोपेर आपसमा रमाउँदै एकआपसमा हिलो छ्याप्ने प्रचलन पनि छन् ।
रोपाइ गरेर थाकेपछि पोषिलो र शीतलता प्रदान गर्ने खाद्य परिकार दही, चिउरा र अचारको खाजा खाने गरिन्छ । त्यसैले असार १५ लाई दही चिउरा खानेदिनको रुपमा पनि लिने गरिएको हो । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।