१२ लाख दिएर छोरीले गराइन् आफ्नै आमाको हत्या

होमल्याण्ड खबर

२०७६ असार १६ गते, सोमबार १३:४२ मा प्रकाशित

भक्तपुरमा छोरीले नै आफ्नी आमाको  विभत्स हत्या गरेकी छिन्। भक्तपुरको चाँगुनारायण- ७ की सावित्रा भट्टराईको हत्यामा उनकै छोरीको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हाे।

आइतबार बिहान चक्कु प्रहारबाट सावित्राको हत्या भएपछि अनुसान्धानका क्रममा प्रहरीले उनकी छोरी २७ वर्षीया ईश्वरीसहित चार जनालाई पक्राउ गरेको छ । ईश्वरी पुरानो ठिमीका मोहम्मद नौसादसँग सम्बन्धमा रहेकी र यसबारे आमाले थाहा पाएपछि प्रेमीसँग मिलेर हत्याको योजना बनाएको पाइएको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका एसएसपी सहकुलबहादुर थापाले बताए ।

‘आमाबाट कुरा बाहिर आउँछ भन्ने डरले आफ्नै प्रेमीसँग सल्लाह गरेर भाडामा दुई जना व्यक्तिलाई प्रयोग गरेको देखिन्छ’, थापाले भने । प्रहरीका अनुसार प्रेमीसँग मिलेर उनले आमाको हत्या गर्न भारतीय कन्ट्राक्ट किलर नागरिक अर्जुन कुमार भनिने भोला कुमार र मोहमद रइसलाई १२ लाख रुपैयाँ सुपारी दिएकी थिइन् ।

रकम पाएपछि उनीहरुले चक्कु प्रहार गरेर सावित्राको हत्या गरेको प्रहरीको भनाइ छ । पक्राउ परेकामाथि ज्यान मुद्दामा म्याद थपेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।