२ चैत्र २०८२, सोमबार
दुई दिनदेखि परेको भारी वर्षापछि बाढी आँउदा नेपालगञ्ज डुबानमा परेको छ । बाँकेको डुडुवा गाउँपालिकामा आएको बाढीले नेपालगञ्ज डुबानमा परेको हो ।
बाढीले धान रोप्न तयारी अवस्थामा रहेका खेतसमेत डुबाएको छ भने धानको ब्याडमा पनि क्षति पुर्याएको छ । त्यस्तै मोटरसाइकल पनि चल्न सकेका छैनन् ।


सोमबार र मंगलबार रातभरि परेको पानीले डुडुवामा बाढी आउँदा विभिन्न पसुचौपाय मरेका छन् । त्यस्तै केही भैँसीलाई बाढीले बगाएको थियो ।
ढलको निकास थुनिएर बस्तीमा पस्दा नेपालगञ्ज– १० स्थित जनस्वास्थ्य कार्यालय पछाडिको बस्ती डुबानमा परेको छ ।
थुनिएको नालाको निकास खोल्न उपमहानगरपालिकाले वास्ता नगरेको स्थानीयवासीको गुनासो छ ।
एशियाली विकास बैंकको अर्बौं ऋण सहयोग खर्च गरेर नगरभरि सडक र नाला बने पनि डुबान समस्या समाधान नहुँदा नेपालगञ्जवासी आक्रोशित भएका छन् ।
यसैबीच जिल्ला विपद् व्यवस्थापन समितिले बाँकेको राप्ती नदीमा बाढी आउन सक्ने सम्भावनाका कारण नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।