२ चैत्र २०८२, सोमबार
पछिल्लो समयमा कर्मचारीहरुले आफुहरुलाई फसाएको भन्दै आएका प्रधानमन्त्री तथा मन्त्रीहरुको भनाईमा ट्रेड युनियनहरु बीच नै मतभेद देखिएको छ ।
नेपाल निजामति कर्मचारी युनियन (संघ)का अध्यक्ष गोपाल पोखरेलले मन्त्री तथा प्रधानमन्त्रीले सार्वजनिक रुपमा कर्मचारीले फसाए भनेर भन्नुभन्दा पनि गल्ती गर्ने कर्मचारीलाई कारबाही गर्न सरकारलाई आग्रह गरेका छन् ।


उनले वर्तमान सरकारले सरकार सञ्चालनमा सजिलो बनाउन भनेर गरेका धेरै सरुवाको प्रसंग सुनाउँदै सरकारले आफुले सरुवा गराएका कर्मचारीप्रति नै अविश्वास गर्नु खेदजनक भएको बताएका छन् ।
सरकारको पछिल्लो काम कारबाही सबै जनताहरुले जाने बुझेको भन्दै कुनैपनि पद र तहका कर्मचारीमाथि दोष थोपरेर सरकार नचोखिने बताएका छन् ।
नेपाल निजामति कर्मचारी संगठनका बरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वको टकरावले पनि यस्तो प्रकारको अविश्वास उत्पन्न भएको बताएका छन् ।
कोइरालाले कतिपय अवस्थामा राजनीतिक नेतृत्व(मन्त्री) र प्रशासन नेतृत्व (सचिव)का बीचमा हुने कुटद्वन्द्वले गर्दा मन्त्रीहरुबाट यस्ता निर्णय हुने गरेको बताएका छन् ।
फरक फरक पार्टी वा दर्शनमा विश्वास राख्ने मन्त्री र सचिवको द्वन्द्वले समस्या आउने गरेको बताएका छन् ।
मन्त्रीहरुको गहन अध्ययनको कमीले गर्दापनि यस्ता समस्या आउन सक्ने उनको भनाई छ ।
कम्युनिष्ट सरकारलाई असफल बनाउन पनि यस्ता किसिमका कार्यहरु भएको हुनसक्ने कोइरालाको बुझाई छ ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विषादी प्रकरणको सम्बन्धमा भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई समयमा जानकारी नदिएको बताएका थिए ।
कर्मचारीले प्रशासनिक जानकारी नदिँदा आफू लज्जित बनेको उनको भनाई थियो ।
केहि दिन अघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पूर्वाधार नभई भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णयमा प्रधानमन्त्री कार्यालय, कृषि र आफ्नै मन्त्रालयमा चार सचिवले आफूलाई फसाएको बताएका थिए ।