२ चैत्र २०८२, सोमबार
भक्तपुर नगरपालिका १० नं वडास्तरीय कार्यक्रमको परिचायात्मक एवं विपद् जोखिम न्युनिकरण सचेतीकरण कार्यक्रम कमलबिनायक मन्दिर परिसरमा शुक्रबार एक समारोह बीच सम्पन्न भयो ।
१० नं वडा कार्यालय र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखा उत्थानशील नगर प्रबद्र्धन र सहभागिता कार्यक्रमको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा १० नं वडाका वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाले विपद् क्षतिको न्युनिकरण बारे सिक्ने पर्ने विषय भएको बताउँदै भुकम्प, हावाहुरी र बाढी पहिरो पूर्व सुचना दिएर नआउने भएकोले त्यसको क्षति न्युनिकरण भने गर्न सकिने बताए ।
उनले समाजमा विकृति, विसंगतितर्फ उन्मुख भइरहेको संकेत गर्दै समाजका व्यक्तिहरुले गर्दा नै क्षति हुने बताए । उनले वर्षातमा तराई डुबान भारतले बनाएका बाँधका कारण भएको बताउँदै मानव निर्मित सम्रचनाले बढी क्षति हुने भएकोले नीति नियम र ऐन कानुनमा बसेर निर्माण गर्दा क्षति नहुने बताए ।
विपद् लगायत विभिन्न सुचनाहरुको जानकारी भए उद्दार गर्न सक्ने भएकोले वडामा भएको कुनै पनि घटनाको वडाकार्यालयमा जानकारी दिन अनुरोध गरे । विपद् व्यवस्थापन बारे नगरपालिकामा नगर प्रमुखको संयोजत्वमा विपद् व्यवस्थापन समिति गठन गरेको जानकारी दिए ।
कार्यक्रममा वडा सदस्य जितेन्द्र मुनांकर्मीले विपद् व्यवस्थापन सम्बन्धमा कानुन बनाइ राजपत्र प्रकाशित गर्ने नेपालमा भक्तपुर नगरपालिका पहिलो रहेको बताए ।
कार्यक्रममा उत्थानशील नगर प्रबद्र्धन र सहभागिता कार्यक्रमका संयोजक मिलन ढुंगानाले सो विषयमा प्रस्तुतीकरण राखेका थिए ।