बाढीपहिरो अपडेट : मृत्यु हुनेको संख्या ४३ पुग्यो, २४ बेपत्ता, पीडितलाई सहयोग जुटाउन प्रदेश प्रमुखको आग्रह

होमल्याण्ड खबर

२०७६ असार २९ गते, आईतवार ११:१३ मा प्रकाशित

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानबाट ४३ जनाको मृत्यु भएको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता रहेका छन् । प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले शनिबार रातिसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिए । उनका अनुसार अहिलेसम्म १ हजार १०४ जनाको उद्धार गरिएको छ ।

ललितपुरमा र भोजपुरमा पाँच–पाँच जना, मकवानपुरमा चार जना, काठमाडौं, खोटाङ, ओखलढुंगा र काभ्रेमा तीन–तीन जना, धादिङ, झापा, सिन्धुलीमा दुई–दुई जना तथा पाल्पा, पर्सा, रामेछाप, ईलाम, सुनसरी, बारा, रौतहट, सिराहा, धनुषा, चितवन र डोल्पामा एक–एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकमध्ये १८ जना महिला र २५ जना पुरुष रहेको बताइएको छ ।

बाढीपहिरोमा परी मकवानपुरमा चार जना, धनकुटामा तीन जना, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा दुई–दुई जना, खोटाङ, धादिङ, चितवन, दोलखा र रामेछापमा एक–एक जना गरी २० जना घाइते भएका छन् ।

यस्तै सिन्धुलीमा छ जना, इलाम र मोरङ्गमा तीन–तीन जना, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ, काठमाडौं र ललितपुरमा एक–एक जना गरी २४ जना बेपत्ता भएका छन् । अहिले पनि उद्धार कार्य भने जारी रहेको छ ।

बाढीपीडितलाई सहयोग जुटाउन प्रदेश प्रमुखको आग्रह

यसैबीच प्रदेश नं १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले केही दिनदेखि परेको अविरल वर्षा र त्यसले पु¥याएको जनधनको क्षतिप्रति दुःख प्रकट गरेका छन् । शनिवार प्रेस विज्ञप्ति प्रकाशित गर्दै मुख्यमन्त्री तुम्बाहाङले वर्षा र पहिरोले ज्यान गुमाएका, बेपत्ता भएका र घरबारविहीन परिवारजनमा शोक प्रकट गर्दै त्यस्ता परिवारमा मानवीय संवेदनशीलता देखाउँदै सहयोग गर्न सबै पक्षसँग आग्रह गरेका छन् ।

बाढी, पहिरोले प्रदेश नं १ उच्च जोखिममा परेको भन्दै उनले विज्ञप्तिमा पीडितपरिवारलाई तत्कालै राहत र सहयोग जुटाई मानवीय कार्यमा जुट्न सबै पक्षसँग आग्रह गरेका छन् । पहाडी क्षेत्र पहिरोको चपेटामा र तराई डुबानले प्रभावित भएको उल्लेख गर्दै उनले प्रभावित क्षेत्रका सबैमा उच्च सतर्कता अपनाउन सुझाव दिएका छन् ।