मकवानपुरमा गाँजा तस्कर र प्रहरीबीच गोली हानाहान

होमल्याण्ड खबर

२०७६ श्रावण ५ गते, आईतवार १४:२० मा प्रकाशित

मकवानपुरको मनहरीमा गोली चलेको छ । मकवानपुरमा प्रहरी र गाँजा तस्कर समूहबीच गोली हानाहान भएको हो ।

मकवानपुरको मनहरी गाउँपालिका ९ रजैयामा गाँजा तस्कर समूहले प्रहरीमाथि गोली चलाएपछि दोहोरो गोली हानाहान भएको प्रहरीले जनाएको छ ।

त्यस क्रममा एक जना गाँजा तस्कर समेत पक्राउ परेको प्रहरीले जनाएको छ । राक्सिराङ गाउँपालिका-१ ढुङ्गेन बस्ने ४३ वर्षीय कुमार स्याङतानलाई कटुवा पेस्तोल १ नाल, सो पेस्तोलमा लाग्ने गोलीको खोका १ राउण्ड, जंगी गोली ५ राउण्ड र करिब ३५ केजी लागूऔषध गाँजा सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरीलाई गाँजा लैजाँदै गरेको ४/५ जनाको समूहमध्ये स्याङतानले कटुवा पेस्तोलबाट १ राउण्ड फायर गरेकोले प्रहरीले समेत जवाफी फायर गरी स्याङतानलाई पक्राउ गरेको हो ।

अन्य फरार व्यक्तिहरुको तदारुकताकासाथ खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।