८ मंसिर २०८१, शनिबार
राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले गुठी संस्थानसँग गुठीको सम्पूर्ण जग्गाको विवरण माग गरेको छ । समितिले आइतबार त्रिपुरेश्वरस्थित गुठी संस्थानको कार्यालयमा पुगेर गुठीको जग्गाको सम्पूर्ण विवरण उपलब्ध गराउन माग गरेको हो ।
समितिका संयोजक गणपतिलाल श्रेष्ठ नेतृत्वको समितिले संस्थानका अध्यक्ष मिनराज चौंधरीलाई बुझाएको ज्ञापनपत्रमा गुठीका चलअचल सम्पत्ति र त्यसको कारोबारको विवरण पनि उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ । गुठीको जग्गा तथा चलअचल सम्पत्ति व्यक्तिले आफ्नो नाममा ल्याएर भोग चलन गरिरहेको समाचार बाहिर आउन थालेपछि समितिले त्यसको सम्पूर्ण विवरण उपलब्ध गराउन गुठी संस्थानसँग माग गरेको हो ।
यता, गुठी संस्थानका अध्यक्ष चौंधरीले कार्यालयमा उपलब्ध भएको गुठीको सम्पत्तिको सम्पूर्ण वितरण समितिलाई बुझाउने प्रतिवद्धता व्यक्त गरे । उनले ६९ वटा जिल्लामा गुठीहरु रहेकाले त्यसको तथ्यांक संकलन गर्न भने केही समय लाग्ने पनि बताए ।