अफगानिस्तानको राजधानी काबुलमा तीन विस्फोट, १२ को मृत्यु

होमल्याण्ड खबर

२०७६ श्रावण ९ गते, बिहीबार १५:१४ मा प्रकाशित

अफगानिस्तानको राजधानी काबुलमा भएका तीनवटा बम विस्फोटमा कम्तिमा १२ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । आन्तरिक मन्त्रालयका प्रवक्ता नसरत रहिमीका अनुसार स्थानीय समय अनुसार बिहीबार बिहान ८:१० बजे सरकारी कर्मचारी बोकेको गाडीमा पहिलो बम विस्फोट गराइएको थियो । उक्त विस्फोटमा पाँच जनाको मृत्यु भएको थियो भने १० भन्दा घाइते भएका थिए ।

प्रवक्ता रहिमीले भने, पहिलो बम सरकारी कर्मचारी बोकेको मिनिबसमा विस्फोट गराइएको थियो भने त्यसको केही समयमा उक्त विस्फोट भएको नजिकैको क्षेत्रमा दोस्रो आत्मघाती बम विस्फोट गराइएको थियो । त्यसैगरी तेस्रो सैनिक बोकेको कारमा विस्फोट गराइएको थियो।

उक्त मिनिबसमा खानी तथा पेट्रोलियम मन्त्रालयका कर्मचारीहरु सवार थिए । रहिमीका अनुसार मृत्यु हुनेको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । 

अधिकारीका अनुसार दोस्रो आत्मघाती विस्फोटमा कम्तिमा सात जनाको मृत्यु भएको थयो भने २० जना घाइते भएका थिए । तेस्रो विस्फोटमा भने मानवीय क्षति नभएको मन्त्रालयले बताएको छ । 

तालिवानी समूहका प्रवक्‍ताले पहिलो विस्फोटको जिम्मा लिएका छन् भने पछिल्ला दुई वटा विस्फोटमा आफ्नो समूहको संलग्नता नभएको बताएका छन् । अलजजिरा