एक महिने गुँला पर्व आजदेखि सुरु

होमल्याण्ड खबर

२०७६ श्रावण १७ गते, शुक्रबार १०:२४ मा प्रकाशित

बौद्ध धर्मावलम्बीहरुको एक महिने गुँला पर्व आजदेखि सुरु भएको छ ।

नेपाल संवतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गुँला पर्वका अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ बौद्ध चैत्यहरूको परिक्रमा गरिन्छ ।

नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौं महिना हो । नेपाल सम्वत् सधैं नवौं महिनामा पर्ने भएकाले यो पर्वलाई गुँला पर्व भनिएको हो ।

स्वयम्भू महाचैत्यको सेवा गर्ने एक महिनासम्म चल्ने यस पर्वमा राजधानीमा खास गरी बौद्ध धर्मावलम्बीले बिहान सबेरै गुँलाबाजा बजाउँदै स्वयम्भू महाचैत्यका साथै बौद्ध मन्दिर तथा विहारको परिक्रमा गर्दछन् । गुँला पर्वको एक महिने अवधिमा एकपटक स्वयम्भु पुग्नैपर्छ भन्ने धार्मिक मान्यता रहेको छ ।

गुँला पर्वमा बौद्धमार्गी विशेषगरी स्वयम्भू महाचैत्यको दैनिक परिक्रमा गर्नुका साथै बौद्ध, पाटनको पुल्चोकलगायत उपत्यकाका विभिन्न चैत्यको समेत परिक्रमा गर्ने गर्दछन् ।

धार्मिक दृष्टिकोणले महत्वपूर्ण यस गुँला (साउन महिना) मा नै नाग पञ्चमी (नागदह मेला), यलपञ्चदान, रक्षाबन्धन जनैपूणिर्मा (कुम्भेश्वर मेला), गाईजात्रा, पाटनमा मतःयाः जात्रा, देवपत्तनमा खड्ग जात्रा र रोपाईं जात्रा, कृष्णाष्टमी, बाबुको मुख हेर्ने तथा पञ्चदान पर्व पर्दछन् ।

गुँला पर्वको प्रमुख विशेषता न्याकुँ बाजा हो । यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ । मृत आत्माको चिर शान्तिको कामनाका साथ यस पर्व अवधिभर न्याकुँ बाजा बजाउने गरिन्छ ।

यसरी यो बाजा बजाउनाले मृत आत्माका अवरोधका पाटा खोलिने धार्मिक विश्वास छ ।